FAQs Complain Problems

ललितपुर महानगरको आँगनमा एटीएम पँधेरो ! मन्त्री मगर र उपमेयरद्धारा वटुवालाई पानी

ललितपुर , २१ फागुन । ललितपुर महानगरपालिकाको ढोकैमा ‘वाटर एटीएम’ पानी पँधेरो सञ्चालनमा आएको छ। नेपालमै पहिलो पटक ‘वाटर एटीएम’ पानी पँधेरो सञ्चालनमा आएको हो । मंगलबार खानेपानी मन्त्री बिना मगरद्धारा उद्घाटन भएको यो ‘वाटर एटीएम’ बाट २ रुपैयाँमा एक गिलास पानी पिउन पाइन्छ।
काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डको लागनीमा ‘वाटर एटीएम’ पानी पंधेरो सञ्चालनमा आएको हो। यो ‘वाटर एटीएम’ पानी पंधेरोको सञ्चालनका लागि सुपिङ इन्टरनेशनल नेपालले ३ महिनासम्म समन्वय गर्नेछ। त्यसपश्चत काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्ड र ललितपुर महानगरपािलकाले व्यवस्थापन गर्नेछ।
‘वाटर एटीएम’संगै कागजको गिलास राखिएको छ। त्यहाँ रहेको गिलास लिएर ‘वाटर एटीएम’मा २ रुपैयाँको सिक्का राखेपछि एक गिलास पानी लिएर पिउन सकिन्छ। यो आधुनिक प्रविधिको विकासले खानेपानीको प्यास मेटाउनका लागि सहजता वनाइदिएको छ ।
‘वाटर एटीएम’को उद्घाटन गरीसकेपश्चत मन्त्री मगर र महानगरपालिकाकी उपमेयर गीता सत्यालले वाटो हिडिरहेका केही बटुवाहरुलाई समेत वोलाएर पानी पिलाउन भ्याए। नयाँ सिस्टम देखेर हर्षित महानगरपालिकाका कर्मचारीहरुले समेत सिक्का लिएर लाइन लागेर पानी पिए।

‘वाटर एटीएम’को उद्घाटन गर्दै मन्त्री मगरले ललितपुर महानगरपालिकामा नेपालमै पहिलो पटक ‘वाटर एटीएम’ सञ्चालन गरेर नयाँ कामको थालनी भएको वताइन्। मन्त्री मगरले भनिन्,‘स्वच्छ पानी पाउने आममानिसहरुको चाहानालाई यसले पूरा त गर्छ, यसका अलवा वातावरण प्रदुशण गर्ने प्लाष्टिक वोतललाई समेत निरुत्साहित गर्न मद्दत पु¥याउँछ।’ उनले यस्तो महत्वपूर्ण कामको सुरुवात गरेकोमा काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डलाई धन्यवाद समेत दिइन्।
ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले यो ‘वाटर एटीएम’को सञ्चालनले आर्थिक मितव्ययिता र वातावरण स्वच्छ राख्नका लागि सहयोग पु¥याउने वताइन्। उनले भनिन्,‘यो हाम्रो लागि नौलो मात्रै हैन, महत्वपूर्ण काम समेत हो, यस्ता ‘वाटर एटीएम’हरु महानगरका अन्य स्थानहरुमा पनि सञ्चालनमा ल्याउन अति आवश्यक छ।’
ललितपुर महानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत प्रेमप्रसाद भट्टराईले महानगरभित्र मानिसहरुको बाक्लो उपस्थिति हुने विभिन्न स्थानहरुमा ‘वाटर एटीएम’ सञ्चालनका लागि महानगरपालिकाले स्थान उपलब्ध गराउन सक्ने समेत वताए।
काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डले काठमाण्डौ उपत्यकाका अन्य १९ स्थानमा समेत यस किसिमको ‘वाटर एटीएम’ सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

२०७५-११-२१