संक्षिप्त परिचय

धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक, मन्दिरै मन्दिरको नगरीको रुपमा परिचित ललितपुर नगर नेपाल उपत्यकाको प्राचीन तथा महत्वपूर्ण ३ नगरहरु मध्ये र्सवप्राचीन नगर हो । अनुपम कलानगरीको रुपमा सुपरिचित यो नगर सफाई तथा अन्य कार्यहरु गर्न वि सं. १९७५ सालमा जारी भएको "पाटन सवाल" बाट "छेमडोल अड्डा"को नामबाट संचालन भई वि. सं. २००९ सालमा ललितपुर नगरपालिका, वि. सं. २०१८ सालमा ललितपुर नगर पञ्‍चायत, वि. सं. २०४७ सालमा पुनः ललितपुर नगरपालिका र वि. सं. २०५२ सालमा ललिपुर उप-महानगरपालिकाको रुपमा कायम भएको छ । यसरी ललितपुर उप-महानगरपालिका नेपालको जेष्ठ नगरपालिका हो ।

काठमाडौं उपत्यकाको प्रसिद्ध तीन शहरहरु मध्ये ललितपुर सवभन्दा पुरानो शहर मानिन्छ । यस शहरलाई प्राचीन कालदेखि हालसम्म समय अनुसार विभिन्न नामले चिनिदै आएको छ । जस्तै यल, युपग्राम, ललितपत्तन, ललितापुरी, मानिङ्गल, पाटन आदी । साहित्यिक श्रोत र जनश्रुतिअनुसार ललितपुर  शहर किरातकालमा नै  स्थापना भैसकेको थियो । उक्त जनश्रुति अनुसार ललितपुरको अर्को नाम "यल" पहिलो किराती राजा यलम्वरको नामबाट राखिएको हो । जनश्रुति तथा यहाँको रीतिरिवाज पनि ललितपुर शहर र किराँतहरुको प्राचीन सम्वन्ध देखाउन सहयोग गर्दछ । कालखु स्थित पट्को डोँ (किरात दरवार ), ८०० किराती मारिएको ठाँउ भनि चिनिने च्यासल, हालसम्म पनि किरातिहरु वर्षो एकपटक आई पूजा गर्नु पर्ने त्यागल स्थित सिद्धिलक्ष्मी मन्दिरको परिसरमा रहेका देवताहरु, तिखिदेवल स्थित शिवजीको मन्दिर आदिले किराँत र ललितपुरको प्राचीन सम्बन्ध थियो भन्ने प्रष्ट हुन्छ ।

यस शहरको प्राचीनताको बारेमा प्रमाणित रुपमा प्रकाश पार्ने पुरातात्विक श्रोतहरुको अभाव छ । तर केही वंशावलीहरुले भारतका मौर्य सम्राट अशोक इ.पू. २५० तिर काठमाडौं उपत्यकाको भ्रमण गरेको र उनले ललितपुरको चारकुना चार र विचमा एक समेत गरेर पाँच स्तूपको स्थापना गरेको कुरा उल्लेख गरेका छन । हालसम्म पनि ललितपुर चारदिशामा चारवटा प्राचीन स्तुपहरु रहेका छन । जुन अशोक स्तुपको नामले प्रख्यात छ ।

ललितपुर क्षेत्रमा प्राचीन समयदेखि नै बस्ती वसिसकेको र एउटा केन्द्रको रुपमा विकास भैसकेको कुरामा दुइमत छैन । लिच्छविकालमा यो क्षेत्र युपग्राम नामले चिनिन्थ्यो । यहाँ पूर्व दिशामा दीपावती नगर (गईट) दक्षिण दिशामा मतीनगर (लगनखेल), पश्चिम दिशामा शिलापुर दानागिरि (पुल्चोक), उत्तर दिशामा ललितारण्य (कुम्भेश्वर) र मध्य भागमा स्वस्तिक आकारको मंगलबजार रहेको बर्णन पाइन्छ । त्यस्तैगरी पूर्व दिशामा श्री बालकुमारी, दक्षिण दिशामा बटुकभैरव र श्रीमहालक्ष्मी, पश्चिम दिशामा खड्गयोगिनी र उत्तर दिशामा चामुण्डादेवी रहेको छ । लिच्छवी कालका पुरातात्विक श्रोतहरु अभिलेख, मूर्ति, ढुङ्गेधारा, जलद्रोणी आदि प्रसस्तै मात्रामा प्राप्त भएबाट  लिच्छविकालमा ललितपुर पूर्ण रुपमा विकास भै सकेको बुझिन्छ । यहाँ रहेका २४ वटाभन्दा बढी लिच्छविकालिन शिलालेख, पहिलो शताव्दीको च्यासलको गजलक्ष्मी, हौगलको हारती, बगलामुखिको मातृकाहरुको मूर्ति, सिकुबहीको उमामहेश्वर, चण्डेश्वरी मन्दिर अगाडीको उमामहेश्वरको मूर्ति, खपिँछे भैरब मन्दिरको परिसरमा रहेको शिलालेख सहितको जलद्रोणी, अभिलेख सहितको ढुङ्गेधारा आदि प्राप्त भएबाट लिच्छविकालको युपग्रामको बनौट कला कौशल केही विकास हुन्दै आएको बुझिन्छ । हालसम्म यस ललितपुर उप-महानगरपालिका क्षेत्रमा २४ वटा लिच्छविकालका शिलापत्रहरु पाइएका छन । आजसम्म प्राप्त शिलालेखहरु मध्ये पहिलो अभिलेख स्वथ टोलको संवत् ४११ को अभिलेखलाई पनि लिन सकिन्छ ।

त्यस्तैगरी पाटन बाहालुखाको सम्वत ४३५ को दण्डनायक र र्सवदण्डनायकको उल्लेख परेको छ भने सम्वत् ६७ को नरेन्द्रदेवको अभिलेखमा युपग्राम, भट्ट र माप्चोक अधिकरणको अधिकार हर्टाईएको ब्यहोरा परेको छ । यहि लिच्छविकालको युपग्राम नै पछि गएर पाटन तथा ललितपुर भन्न थालियो । यल, पाटन, ललितपटन, ललितापुरी, ललितपुर, मनिङ्गल आदि नामले प्रख्यात यस नगर मल्लकालमा छुट्टै राज्यको रुपमा रहेको थियो । मध्यकालको बौद्ध धर्म र संस्कृतिको केन्द्रको रुपमा विकास हुनुको साथै कला र संस्कृतिको दृष्टिबाट महत्वपूर्ण केन्द्रको रुपमा रहिरह्यो । यसैले आज यस नगरलाई City of Fine Arts को नामले चिनिन सफल भएको हो । ललितपुर नगरका भौतिक सम्पदाको प्राचिनता बारे धेरै अगाडिसम्म पुग्नसक्ने प्रमाणहरु नपाइएता पनि मल्लकालको पूवार्धमा बनेका सम्पदाहरु हालसम्म पनि जीवित नै रहेका छन् । बंशावली तथा अन्य केही स्रोतहरुले वरदेवको हजुरबाबुले -राज प्रसाद) दरबार बनाइएको, सन् ११७६ रुद्र देवले पाटन दरबारको एक चोक निर्माण गरेको उल्लेखहरु पाइएको छ।